advertisement
Send Us

प्रधानमन्त्री कोइरालाको अध्यक्षतामा ६५औँ प्रजातन्त्र दिवस मूल समारोहसमिति गठन

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २० माघ । पैँसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपले मनाउन प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

आगामी फागुन ६, ७ र ८ गते मनाइने सो दिवसका लागि सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको प्रधानमन्त्रीको कार्यालयमा आज आयोजित कार्यक्रममा गृहसचिव सूर्य सिलवालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइराला, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीगण, सभासद्, उच्चपदस्थ सरकारी कर्मचारीलगायतको सहभागिता रहेको सो कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति र काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज, व्यायाम व्यवस्थापन समन्वय उपसमिति पनि गठन गरिएका छन् ।

दिवसको पहिलो दिन उपत्यकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले राष्ट्रिय झन्डा तथा ब्यानर सजाइ सरसफाइ गर्ने, दिवस भव्यताका साथ मनाउन सार्वजनिक अपिल गर्ने र रेडियो नेपालबाट परिसम्वाद कार्यक्रम गरिने भएका छन् ।

दोस्रो दिन, सूर्योदय हुनासाथ नेपाली सेनाले भीमसेनस्तम्भबाट बिगुल बजाउने, तोप र बन्दुकको बढाईं गर्ने, सहिदको आत्माको चिरशान्तिका लागि पूजापाठ गर्ने, प्रधानमन्त्री कोइरालाले सन्देश दिनुहुने, सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गर्ने, सञ्चारमाध्यमबाट समाचार तथा समाचारमूलक कार्यक्रम प्रसारण गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम छ भने तेस्रो दिन सञ्चारमाध्यमबाट परिसंवाद कार्यक्रम गर्ने र चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौँ उपत्यका बाहिरका जिल्लाका साथै विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि प्रजातन्त्र दिवस मनाइने भएको छ ।

अर्थमन्त्री डा रामशरण महतले प्रजातन्त्र दिवस परम्परागत ढङ्गले मात्र मनाइन लागिएकोमा आपत्ति जनाउँदै नयाँपन दिन पनि सुझाव दिनुभयो ।

जनतालाई दिवस मनाउन बोलाउनेभन्दा जनताकै घर–घरमा पुग्ने गरी सहरमा मार्चपास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सार्क सम्मेलनका बेला सिङ्गारिएको सहरलाई कुरुप हुन नदिन सरसफाइ गर्न र बिगारिएका सडकपेटी मर्मत गर्न सुझाव पनि दिनुभयो ।

सिँचाइ मन्त्री नारायणप्रकाश साउदले पुराना संरचना संरक्षणका लागि सबैको ध्यानाकर्षण गराउनुभयो ।

सभासद् प्रकाश ज्वालाले प्रजातन्त्र दिवस कर्मकाण्डी हिसाबले मनाइन लागिएकोमा आपत्ति जनाउँदै लोकतन्त्रको आभास हुने गरी नयाँपन दिनुपर्ने, विद्यमान राजनीतिक समस्या र त्यसको निकास हुनेगरी सन्देश आउनुपर्ने र राजनीतिक दललाई समेत सहभागी गराई ¥याली र जुलुस निकाल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले प्रत्येक जिल्लामा प्रधानमन्त्रीको सन्देश एकैपटक प्रसार हुनेगरी कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

गृह मन्त्रालयले प्राप्त सुझाव सङ्कलन गरी सो समारोहलाई परिमार्जन गर्ने जनाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement