advertisement
Send Us

परोपकारी उद्देश्यले गरिएका कार्यले सफलता पाउँछ–राष्ट्रपति

Click Link to Send:
Click Link to Send:

yadavरौतहट, १३ फागुन । राष्ट्रपति डा रामवरण यादवले परोपकारी उद्देश्यले गरिएका कार्यहरुले सफलता पाउने बताउनुभएको छ ।

आज रौतहटको चन्द्रपुर नगरपालिका–१४ स्थित श्रीकृष्ण प्रणामी धार्मिक पर्यटन महोत्सवमा सहभागी हुँदै उहाँले दिन दुःखीको सेवा गर्नु नै धर्म भएको विचार व्यक्त गर्नु भयो ।

राष्ट्रपति डा यादवले एन्ड्रोइड मोबाइलको एउटा एप्सबाट नेपालमै पहिलोपटक श्रीकृष्ण प्रणामी वृद्धाश्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले १०१ वर्षीय कृष्णबहादुर तिमल्सिनालाई ज्येष्ठ नागरिकका प्रतिनिधिको रुपमा सम्मान गर्नुभएको थियो ।

उहाँले सद्भाव, सहकारी संस्कार र जातीय भेदभाव नभएको सुन्दर गाउँ नजरपुर राष्ट्रकै लागि अनुकरणीय रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति डा यादवले वृद्धाश्रमको माध्यमद्वारा असक्त दुःखी र गरिबको सेवा गर्नु मानव जातिको परम कर्तव्य हो भन्नुभयो ।

शिक्षा मन्त्री चित्रलेखा यादवले समाजमा आध्यात्मिक र नैतिक शिक्षाको कमी भएको चर्चा गर्दै शिक्षाको आवश्यकता पूर्ति गर्न श्रीकृष्ण प्रणामी धर्मले अग्रणी भूमिका खेलेको बताउनुभयो ।

सोही अवसरमा नवतन धाम काठमाडौँका गादिपति श्री अमृतराजजीले विश्वमा ७०० प्रणामी मन्दिर एवम् आश्रम र करिब ६० लाख प्रणामी रहेको जानकारी दिनुभयो ।

आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाले रु ६० लाखको लागतमा निर्मित वृद्धाश्रममा नौ जना वृद्धवृद्धा, १३ वटा कोठा र एउटा हल रहेको जानकारी दिनु भयो ।

महोत्सव यही फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।

विसं २०२० मा स्थापना गरिएको उक्त मन्दिर ५० वर्ष प्रवेश गरेको अवसरमा धर्म महोत्सव आयोजना गरिएको महोत्सव मुल समारोह समिति अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले महोत्सवमा करिब रु एक करोड ६० लाख सङ्कलन गरिने जानकारी दिनु भयो ।

यसैबीच, धार्मिक पर्यटन महोत्सवको अवसरमा आजै साँझ नजरपुरबाट चन्द्रपुर नगरपालिका विभिन्न वडामा मोटरसाइकल ¥यालीसमेत निकालिएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement