advertisement
Send Us

प्रचण्डलाई मधेशको ठेक्कापट्टा कसले दियो ?

Click Link to Send:
Click Link to Send:

473aef74debe274469179c32f14c838fकाठमाडौँ । मुस्लिम सभासदले कुरान होइन हिन्दूहरूको महाग्रन्थ महाभारतको कथा सुनाउदा केही दिनअघि संविधानसभा बैठकमा सबैको ध्यान आकृष्ट गरेको थियो। ती सभासद थिए, कपिलबस्तुबाट निर्वाचित स्वतन्त्र सभासद अतहर कमाल मुसलमान।

उनले एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चालाई कौरवको संज्ञा दिएपछि संविधासनभाको माहौलनै अर्कै बनेको थियो। मुसलमानले कांग्रेस र एमाले नेतृत्वको गठबन्धन पाण्डव र प्रचण्ड नेतृत्वको गठबन्धनलाई कौरवको संज्ञा दिंदै प्रचण्डलाई सकुनी बोकेर अघि बढ्दा घाटा हुने बताएका थिए। स्वतन्त्र उम्मेदवार उठेर भारी मतले जितेका मुसलमान बौद्धिक सभासद पनि हुन् भन्ने जानकारी चाहिं उनको त्यसदिनको भाषणपछि मात्र धेरैले थाहा पाए।

संविधानसभामा मुसलमान र चन्द्रेश्वर झा दुई जना स्वतन्त्र सभासद छन्। उनीहरू दुवैजनाको एउटै पार्टी जस्तो छ, अर्थात दुवैजनाको एउटै धारण रहने गरेको छ। संविधानसभाबाट संविधान जारी गर्ने सवालमा उनीहरू अहिले कांग्रेस र एमाले गठबन्धनसंग छन्। मधेशी मोर्चाले उनीहरूलाई मधेश विरोधीको आरोप लगाइरहेको छ। पछिल्लो समयमा उनी अब वार्ता होइन पेलेर संविधान जारी गर्नुपर्छ भन्ने लाइनमा उभिएका छन्। उनै सभासद मुसलमानस)ग साँघु प्रतिनिधिले गरेको कुराकानीका सम्पादित अंश प्रस्तुत गरिएको छ–

तपाई मुसलमान मान्छे, संविधानसभामा त महाभारतको कथा हाल्नुभयो नि?

विषय र सन्दर्भले मागेपछि मैले त्यो कुरा उठाएको हुँ। मुसलमानले महाभारत र गीता पढ्नै हुदैन भन्ने छैन। हिन्दूले कुरान पढ्न हुदैन भन्ने पनि छैन। महाभारतको कुरालाई बाबुराम भट्टराईले गलत अर्थ्याए, बरु म मुसलमानले सही ढंगले अर्थ्याएको हो। जसरी महाभारतमा सकुनीको कारण कौरव र पाण्डवको युद्ध भयो, अहिले संविधानसभामा पनि कौरव र पाण्डव देखिए,। सकुनीलाई लिएर हिंड्दा प्रचण्ड डुब्दैछन् भनेर मैले भनेको हो। त्यसमा म अहिले पनि अडिग छु। वास्तवमा संविधान कुनै धर्मग्रन्थ नभएकाले भोलि आफ्नो दुई तिहाई ल्याएर संविधान संशोधन गर्न सुझाव मैले दिएको हो। तर उनीहरू गलत बाटो हिडेका छन्। म मधेशबाट प्रतिनिधित्व गर्छु, म मुसलमान धर्म मान्छु तर मेरो अधिकारको नाममा अरु ठेकेदार निस्किन खोज्दैछन्, तिनीहरूलाई त म कौरव नै भन्छु।

एमाओवादी र मधेशी मोर्चाले वार्तामा बस्न खोज्दा पनि तपाइले वार्तै गर्न हुन्न भन्नु भयो रे नि, किन हो?

जसले संविधान जारी नभएकोमा खुसियाली मनाउदै बिजय उत्सव मनाए उनीहरूसंग के को वार्ता? संविधानसभाबाट संविधान जारी हुनै हुदैन भन्नेहरूसंग वार्ता गर्नु हुदैन भनेकै हो। यसको अर्थ वार्ता गर्दै नगर्ने भन्ने होइन तर संविधानसभा जुन प्रक्रियामा पुगेर अवरुद्ध भएको छ, सायद यो अन्तर्वार्ता छापिने बेलासम्म एउटा निकास आउला, त्यो प्रक्रिया टुंगो नलागेसम्म त किन वार्ता गर्ने भन्ने मेरो मात्र होइन कांग्रेस र एमाले सहित १० दल र हामी दुई स्वतन्त्र सभासदहरूको अडान हो।

होइन अब त वार्ताबाट मध्यमार्गी बाटो खोजेर संविधान ल्याउनुपर्ने हो कि फेरि अत्तो थाप्ने हो?

संविधानसभामा संविधान पक्षधर र संविधान विरोधीहरूको स्पष्ट कित्ताकाट भइसकेको छ। एमाओवादी र मधेशी मोर्चा संविधान विरोधी हुन्। उनीहरूले के बुझ्नुपर्छ भने अहिले प्रक्रियाको जुन विषय हुनेको छ त्यो कांग्रेस र एमाले गठबन्धनले ल्याएको विषय पनि होइन, एमाओवादी र मधेशी मोर्चाले ल्याएको विषय पनि होइन। कांग्रेस र एमालेले त सिधै दुवै पक्षका प्रस्तावलाई संविधानसभामा निर्णयार्थ पेश गरियोस् भनेका थिए। संविधानसभा अध्यक्षले दुवै पक्षलाई मिलाउने यो भन्दा उपयुक्त बाटो अर्को छैन भनेर ल्याएको प्रस्ताव हो प्रश्नवाली समिति गठनको प्रस्ताव। त्यसैले यो प्रक्रिया टुंगो नलागी अर्को कुरा त हुनै सक्दैन।

संविधानसभा अध्यक्षले त मिलाउन ल्याएको प्रस्ताव हो, अब दलहरूनै मिलेर गए भने त भइगो नि होइन?

संविधानसभा अध्यक्षले दुवै पक्षलाई मिलाउनका लागि माघ ५ गते मध्यमार्गी प्रस्ताव ल्याउनुभयो। त्यही राती उहाँहरूले संविधानसमा सभासदमाथि आक्रमण, तोडफोड, एमाले नेता केपी ओलीमाथि हमला गर्नु भयो। उहाँहरूको नियत त उदांगो भइसकेको हो। त्यसैले अब संविधानसभा अयक्षले उहाँको यो प्रक्रिया टुंगो लगाउनुपर्छ अनिमात्र कसरी जाने भन्ने आउछ। उहाँले कार्यव्यवसथा परामर्श समिति बैठक राखेर यो प्रस्ताव ल्याएकाले पहिले यसलाई निर्णयमा लानुपर्छ अनिमात्र अर्को कुरा हुन्छ। यसरी केही मान्छेको अवरोधका कारण सभाध्यक्षले प्रस्ताव फिर्ता लिने हो भने अर्कोले पनि अवरोध गर्छ। संविधानसभामा कमल थापाजीको फरक मत रहँदै आएको छ। यही ताल हो भने त चार वर्ष होइन चालिस वर्षमा पनि संविधान बन्दैन।

दलहरूले प्याकेज मै सहमति गर्ने भए भने त, संविधानसभाले आफ्नो प्रस्ताव फिर्ता लिन सक्छ नि?

प्याकेजमा होस् कि खुद्रामा होस्, संविधानसभामा टेबुल भइसकेको विषय निर्णय नगरी अघि बढ्न सकिदैन। यो प्रस्तावको पक्षमा ‘एस’ वा ‘नो’ भनेपछि मात्रै अर्को प्रक्रियामा जाने हो। दलहरूबीच सहमति होस् त्यो राम्रो कुरा हो। तर, सहमति हुन्छ भने पनि प्रक्रियामा त लैजानुपर्छ। प्रश्नवाली समिति गठन गरेर त्यसलाई एक महिनाको समय दिन सकिन्छ। समितिलेनै २० दिनसम्म सहमति खोज्न सक्छ र बाँकी दश दिनमा प्रश्नवाली तयार पार्न सक्छ।
मधेशी र जनाजतिको पहिचाननै नदिने खालको षडयन्त्र भएकोले मान्न सकिन्न भन्ने कुरा आयो नि?

यो विषय ओपन सेक्रेट छ कि प्रचण्ड अर्थात एमाओवादी नै भिलने बनेको छ। यसअघि पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शासकीय स्वरु, निर्वाचन प्रणाली, न्याय प्रणाली ३ विषयमा सहमति भयो, सहमतिका विषय मस्यौदामा पठाउँ, संघीयतामा केही दिन लिउँ भनेका थिए। तर, आफैं त्यो प्रतिबद्धताबाट उनी एकाएक पछि हटेर संविधानसभामा आक्रमण र तोडफोडमा उत्रिए। माघ ८ गते पनि बिजयकुमार गच्छदारले ३ विषय सहमति भएकालाई संवधानसभामा पास गराएर अघि बढाउँ, संघीयतमा ६ देखि आठ प्रदेश हुनेछ भनेर जाउँ भन्दा एमाओवादी मानेन। बिजय गच्छदार मधेशी हुन् कि होइनन्? आदिवासी जनजाति हुन् कि होइनन्? प्रचण्डले कहाँबाट ठेक्का पाए मधेशी र जनजातिको? यो सबै वाहियात कुरा हो, प्रचण्ड र मधेशी मोर्चाका केही नेताको स्वार्थ पूरा नभएकाले भाँडिएको हो।

तपाईले पनि मधेशी मुस्लिम भएर पहिचान विरोधी दललाई साथ दिएको आरोप लाग्यो रे होइन?

मलाई माओवादी र केही मधेशी मोर्चाका पराजितहरूको आरोपसंग कुनै मतलब छैन। मधेशी जनताको वास्तविक प्रतिनिधि म हुँ, मुस्लिम जनताको प्रतिनिधि म भएकाले मलाई कसैले ठेक्का दिनु पर्दैन। वास्तवमा प्रचण्ड र केही मधेशका पठाधीशहरू मधेशी जनजातिलाई अधिकार दिने पक्षमा पनि छैनन्। उनी त मधेशी जनजातिका नाममा केही भँडुवाहरूलाई उचालेर सडकमा अशान्ति मच्चाउने, समाजमा साम्प्रदायिक विद्वेष भड्काउने र आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने योजनामा छन्।

माघ ८ मा संविधान जारी हुन नदिन त उनीहरू सफल भए नि?

उनीहरू सफल भए, तर जनताले पनि उनीहरूलाई चिन्ने मौका पाए। माघ ८ मा संविधान बनाउन उनीहरूले चाहेका थिएनन्, त्यसैले नारा लगाउदै बिजय उत्सव मनाएर हिंडे। अधिकांश जनता र सभासद माघ ८ मा संविधान आउनुपर्छ भन्नेमा थिए, उनीहरू निराश भए। तर अब निराश हुने बेला छैन। संविधान बिरोधीहरू जनताले चिनिसकेकाले अब संविधानसभाबाट दुई तिहाई बहुमतभन्दा बढीबाट संविधान जारी गर्नुपछ। अब कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन।

अब के होला जस्तो लाग्छ तपाईलाई?

मलाई लाग्छ, यो अन्तर्वार्ता प्रकाशित हुँदासम्म संविधानसभाबाट सविधान निर्माणको प्रक्रिया शुरु भइसकेको हुनेछ। संविधानसभा अध्यक्षले सकेसम्म माओवादी र मधेशी मोर्चालाई पनि मनाउनुहुन्छ, नत्र पनि उहाँको प्रस्ताव उहाँले पेश गरेपछि हामी दुई तिहाईले समर्थन गर्छौं। उहाँको सजिलोका लागि हामीले दुई तिहाई भन्दा बढी सभासदको हस्ताक्षर बुझाइसकेका छौं। त्यसले उहाँलाई अघि बढ्न बैधानिकता दिएको छ। आउनेहरू आउछन् संविधान निर्माणको प्रक्रियामा, नआउनेहरू छुट्छन्।

तपाई मधेशी मुस्लिम सभासद, कांग्रेस र एमालेले मन्त्रीको प्रलोभन दिएर मधेश विरोधी कित्तामा ताने भन्ने आरो पनि छ नि?

यो आरोप लगाउनेहरू मेरो सामुन्ने आउन्, म जवाफ दिन्छु। अहिलेसम्म हामी दुई स्वतन्त्र सभासदलाई मन्त्री वा रु कुनै पद दिने त परै जावस्, हामीले नियम अनुसार पाउने सुबिधा समेत दिइएको छैन। सरकारले संविधानसमा सबै दलका संसदीय दलका नेताहरूलाई यातायात खर्च भनेर २० हजार दिएको छ। गाडी सुबिधा दिएको छ। संविधानसभा नियमावली र निर्वाचन आयोगले हामी स्वतन्त्र सभासदलाई संसदीय दलको सरह मान्यता दिएपनि हामीलाई कुनै सुबिधा दिइएको छैन। त्यसैले हामीमाथि आरोप लगाउनुको अर्थ छैन।

यस्तो आरोप मधेशी नेताहरूबाटै किन आयो होला त?

यसमा एउटा कुरा के हो भने, मधेशवादी भनिएकाहरूको नियत र नियतिनै यस्तै छ। हामीमाथि आरोप लगाउनेहरू कति लोभीपापी छन् भन्ने दुनियाँलाई थाहा छ। हामीले त एजेण्डा मिलेका हुनाले कांग्रेस र एमालेलाई साथ दिएका हौं। तर, हामीलाई आरोप लगाउनेहरूको बिगत र वर्तमान हेर्ने हो भने तिनीहरू पदका लागि जे पनि गर्न तयार हुनेहरू छन्। मधेशी जनताले तिनीहरूलाई राम्रोसंग चिनेका छन्. र उनीहरूको दिएको सजाय पनि दिएका छन्।

मधेशी मोर्चाले मधेशको प्रतिनिधित्व गर्छ, त्यसैले पनि उनीहरूसंग तपाईहरू मिलेर अघि बढ्दा अधिकार स्थापित हुन्थ्यो भन्ने कुरा पनि आयो नि?

मधेशका रक्षक को हुन्, मधेशका वास्तविक प्रतिनिधि को हुन् भन्ने जनताले बुझ्नुपर्छ र बुझेका पनि छन्। हामी मधेशका पक्षधर नभएका भए स्वतन्त्र रुपमा उठ्दा पनि मधेशी जनताले हामीलाई किन जिताउथे। कथित मधेशी मोर्चाका नेताहरू किन हारे? यसैबाट मधेशको वास्तविक प्रतिनिधि को हो भन्ने प्रष्ट हुन्छ। जसले सत्ता प्राप्तिका लागि, मन्त्री पदका लागि पार्टी फुटाउने, फोहोरी खेल खेल्ने काम गरे, तिनीहरूले हामीलाई मधेश विरोधी भन्नुको अर्थ छैन। भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भने जस्तै उनीहरूले आफू जस्तै सम्भि्कएर हामीलाई आरोप लगाउनु स्वभाविक हो।

तपाईको निर्वाचन क्षेत्रमै पहाडेसंग मिलेको भनेर पुत्ला जल्यो रे?

यस्ता प्रायोजित कुरासंग मलाई मतलब छैन। म जनताबाट चुनिएर आएको मान्छे हुँ। कपिलबस्तुका जनताले मलाई चिनेका छन्। हामी कुनै दबाब, प्रलोभनमा छैनौं, हामी कसैको दबाबमा एजेण्डा परिवर्तन पनि गर्दैनौं। हामी सत्ताका लागि स्वाभीमान बेच्न चाहँदैनौं। मधेशका वास्तविक प्रनिनिधि हामी हौं, जसलाई जनताले हराए तिनीहरू मधेशका मसिहा बन्न खोजेका छन्। उनीहरू जसले हामीलाई आरोप लगाएका छन्, उनीहरू आफैं समाप्त भएर जानेछन्।

साभार : साँघु साप्ताहिक

Your Opinion

Opinion

advertisement
advertisement