advertisement
Send Us

उत्पादन सोलुखुम्बुमा कर अन्यत्रै

Click Link to Send:
Click Link to Send:

सोलुखुम्बु, २३ पुस । सोलुखुम्बुमा पछिल्ला वर्षमा अलैँचीको उत्पादनसँगै आम्दानी निकै बढेको छ । एकजना कृषकले यस वर्ष अलँैचीबाट रु २२ लाखभन्दा बढी आम्दानी गरेका छन् ।

जिल्लाभरिमा यस वर्ष ३५ हजार केजीभन्दा बढी अलँैची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ । तर व्यापारीले भने करिब ४७ हजार केजी अलैँची उत्पादन भएको जनाएका छन् ।

जिल्लामा उत्पादन भएको यति धेरै अलैँची निकासी हुँदासमेत उनीहरुले स्थानीय निकायलाई कर तिर्दैनन्, बरु उल्टै त्यो उत्पादनको कर छिमेकी जिल्ला रामेछाप र सङ्खुवासभालाई तिर्ने गरेका छन् ।

जिल्लाको सबैभन्दा बढी अलैँची उत्पादन हुने क्षेत्र चाँैलाखर्क, गोली र भकान्जे गाविसका कृषकले छिमेकी जिल्ला रामेछापको बाम्तीभण्डार हँुदै बिक्रीका लागि काठमाडौँतर्फ लैजाने गरेका छन् ।

उनीहरुले बाम्तीभण्डार गाविसमा कर बुझाउने गरेको चाँैलाखर्कका अलैँची व्यापारी डम्बरबहादुर बस्नेतले बताउनुभयो ।

त्यस्तै जिल्लाको बुङ, छेस्काम, गुदेल, सोताङलगायतका गाविसमा उत्पादन हुने अलँैची सङ्खुवासभा जिल्ला हुँदै निकासी गर्ने भएकाले सङ्खुवासभामा कर तिर्ने गरेका छन् ।

जिल्ला विकास समिति सोलुखुम्बुले भने यस वर्ष जम्मा पाँच हजार राजस्व सङ्कलन गरेको छ । प्रतिकेजी रु तीन कर तोकेको अलैँचीबाट यस वर्ष कृषि कार्यालयकै तथ्याङ्कअनुसार सरदर ३१ हजार केजीको ९३ हजार कर सङ्कलन हुनुपर्ने भए पनि कर सङ्कलन गर्न नसकिएको जिल्ला विकास समिति सोलुखुम्बुका योजना अनुगमन तथा प्रशासकीय अधिकृत रोशनशङ्कर घिमिरेले बताउनुभयो ।

उत्तरी गाविसमा उत्पादन हुने अलैँचीको राजस्व सङ्खुवासभामा र लामोजुरा पारीका गाविसमा उत्पादन हुने अलैँचीको राजस्व रामेछापकै बाम्तीभण्डारमा दाखिल हुने भन्दै योजना अधिकृत घिमिरेले भन्नुभयो, “भौगोलिक विकटताका कारण उनीहरुलाई जिल्लाभित्रै करको दायरामा ल्याउन नसकेको हो, हामी छिट्टै जिल्लाभित्रै करको दायरामा ल्याउने योजनामा छौँ ।”

जिल्लामै अलैँचीको ठेक्का गर्ने व्यापारी अलैँची निकासी गर्ने बेलामा छिमेकी जिल्लामा कर तिर्छन् । सोलुखुम्बुमा प्रतिकेजी रु तीन राजस्व तिर्नुपर्ने तर रामेछापमा भने दुई रुपैयाँ ५० पैसामात्रै तिर्नुपर्ने भएकाले पनि व्यापारीले रामेछापमा कर तिरेको अर्का अलँैची व्यापारी दिनेश बस्नेत बताउनुहुन्छ ।

उत्पादन बढ्दै

हिमाली जिल्ला सोलुखुम्बुमा अलैँची उत्पादनसँगै अलैँचीखेती बढ्न थालेको छ । अघिल्लो वर्ष ५२ हेक्टर जमिनमा अलैँचीखेती गरिए पनि यस वर्ष ६२ हेक्टर जमिनमा अलैँचीखेती सुरु गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कृषकले व्यावसायिक रुपमा अलैँची खेतीलाई प्राथमिकता दिएपछि अलैँचीको बीउकोसमेत माग बढेको छ ।

जिल्लाको गोली, चाँैलाखर्क, भकान्जे, गुदेल, मुक्लीलगायतका गाविसमा अलैँचीखेती हँुदै आएको छ । यस वर्ष अलँैचीको बीउ सोताङ, लोखिम, काँगेल, देउसा, मुक्ली र सल्यानमा पनि वितरण गरिएको कार्यालयले जनाएको छ ।

दश हेक्टरभन्दा बढी जमिनमा अलैँचीखेती सुरु भएपछि उत्पादन पनि सोही अनुरुप वृद्धि हुने वरिष्ठ कृषि विकास अधिकृत हस्तबहादुर विष्टले बताउनुभयो ।

साथै यस वर्ष अलैँचीको व्यावसायिक खेतीका लागि तीन लाखभन्दा बढी बिरुवाको माग भए पनि उक्त मागपूर्ति गर्न कार्यालयले सकेको छैन । कृषि कार्यक्रमअन्तर्गत कार्यालयले कृषकको माग यस वर्ष धान्न नसकेपछि आगामी वर्ष पाँच लाख अलैँचीको बिरुवा जिल्ला भित्र्याउने लक्ष्य लिएको जनाएको छ ।

जिल्लामा उत्पादन भएको अलैँची प्रतिकेजी रु दुई हजारका दरले बिक्री भइरहेको छ भने त्यसबाट आफूहरुले व्यावसायिक आम्दानी सुरु गरेको कृषकको भनाइ छ ।

अलैँची खेतीबाट फाइदा हुने भएपछि अहिले चाँैलाखर्कबाट विदेश गएका दर्जनभन्दा बढी युवा गाउँमै फर्किएर अलैँची उत्पादनमा जुटेका छन् ।

Your Opinion

Opinion

advertisement
advertisement