advertisement
Send Us

त्रि–देशीय सडक निर्माणको ढिलाइप्रति स्थानीय जनता क्षुब्ध

Click Link to Send:
Click Link to Send:

road-constructionप्यूठान, १३ माघ । भारत–नेपाल–चीन (तिब्बत) जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक सञ्जाल निर्माणमा ढिलाइ भएको भन्दै यहाँका स्थानीय जनताले गुनासो गरेका छन् ।

भारतको कृष्णनगर हुँदै प्यूठान (अर्खा)–बागलुङ (ढोरपाटन) बाट मुक्तिनाथसम्म र म्याग्दी–मुस्ताङबाट तिब्बत जोड्ने त्रि–देशीय सडक सञ्जाल निर्माणमा सम्बन्धित पक्षले ध्यान नदिएको भन्दै अर्खाका स्थानीय जनता क्षुब्ध छन् ।

“अब चार किलोमिटर सडक निर्माण भए कृष्णनगर प्यूठान हुँदै बागलुङसम्म जोडिन्छ,” अर्खा गाविसका निवर्तमान गाविस अध्यक्ष रतिमान रानाले भन्नुभयो, “बागलुङको भीमगिठीबाट म्याग्दी–मुस्ताङ हुँदै यो सडक चीनको तिब्बतसँग जोडिन्छ ।” हालसम्मका त्रि–देशीय सडक सञ्जालमध्ये यो सडक सरल र छोटो दूरीको पर्ने उहाँले बताउनुभयो ।

स्थानीय जनताले दुई दशकदेखि बिजुवार–बाग्दुला हुँदै अर्खा–ढोरपाटन सडक विस्तारको माग गर्दैआएको भन्दै स्थानीयवासी मित्र थापाले झन्डै चार किलोमिटर सडक निर्माणले प्यूठान–बागलुङ जोडिने बताउनुभयो । “कृष्णनगर–प्यूठान अहिले पनि जोडिएको छ” स्थानीय शिक्षकसमेत रहनुभएका थापाले भन्नुभयो, “प्यूठानबाट बागलुङ जोडे म्याग्दी–मुस्ताङ हुँदै यहाँको सडक तिब्बत जोडिन्छ ।” यहाँको सडकलाई स्थानीय जनताले मात्रै नभई केन्द्रले पनि महत्वका साथमा हेर्नुपर्ने उनीहरुको माग छ ।

“प्यूठान र बागलुङ जिल्लाको सिमानामा पर्ने आरुबारेसम्म सालझण्डी र ढोरपाटको सडक विस्तार भएको छ,” गाविसका निवर्तमान अध्यक्ष रानाले भन्नुभयो, “सडकलाई त्रि–देशीय सडक सञ्जाल बनाए मध्यपहाडी लोकमार्गसँग पनि प्यूठान जोडिन्छ ।” हाल निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गले प्यूठानलाई नछुने भन्दै जिल्लाका सरोकारवालाले त्रि–देशीय सडक सञ्जाल विस्तार भए मध्यपहाडी लोकमार्गमा प्यूठान हुँदै तराईका जिल्लालाई समेत जोड्न सकिने बताएका छन् ।

“प्यूठान–बागलुङ सडकले तीन देशसँगै धार्मिक आस्थालाई पनि जोड्छ,” मध्यपश्चिम उद्योग वाणिज्य सङ्घका क्षेत्रिय सदस्य प्रमोद पोख्रेलले भन्नुभयो–“लुम्बिनी आएका पर्यटकहरुलाई प्यूठानको स्वर्गद्धारी–गौमुखी हुँदै मुक्तिनाथसम्मको यात्रा गराउन सकिन्छ ।”

त्रि–देशीय सडक सञ्जाललाई केन्द्रले महत्वका साथमा हेर्ने गरेको भएपनि लगानी प्राथमिकतामा नपरेको भन्दै राष्ट्रिय योजना आयोगले सडक पूर्णताका लागि यस पटक बजेट विनियोजन गरेको जनाएको छ । “भारतसँग प्यूठान र बागलुङ जिल्ला यसै बर्ष जोडिन्छन्, ” योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले भन्नुभयो – “क्रमशः यहाँको सडक सञ्जाललाई तीन देशबीच जोड्ने सडक सञ्जालमा विकास गर्ने गरी योजना आयोग लागेको छ ।”

आयोगले सुरुमा यहाँको सडकलाई १८ लाख रुपैयाँ विनियोजन गरेकामा त्यसलाई थप गरी ९७ लाख पुर्‍याएको उपाध्यक्ष डा. पोख्रेलले जानकारी दिनुभयो । “महत्वाकाङ्क्षी आयोजनाका रुपमा हेरिएको सडक सञ्जाललाई पूर्णता दिन केन्द्रबाट सक्दो पहल गरेको छु,” उहाँले भन्नुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement