advertisement
Send Us

संविधानसभालाई बेकम्मा बनाई ‘अनावश्यक’ नारा नलगाउ : नेपाल

Click Link to Send:
Click Link to Send:

काठमाडौं, ६ माघ । दलहरुद्वारा संविधान जारी गर्ने प्रतिवध्दता व्यक्त गरिएको दिन माघ ८ नजिँकिदै गर्दा संविधानसभाको बैठक फेरि पनि नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने क्रम सुरू भएको छ ।

संविधानका मुख्य अन्तरवस्तुमा दलहरूबीच सहमति नभएपछि गएरातिदेखि संविधानसभाका बैठक एनेकपा—माओवादी र मधेसवादी दलका सभासद्को अवरोधका कारण स्थगित हुन सुरू भएको हो । यसअघि, संविधानसभाका बैठकमा यस प्रकारको अवरोध भएको थिएन । दलहरूले संविधानसभाको बैठकमा सत्ता पक्ष र विपक्ष नहुने तथा यसका बैठक अवरोध नगर्ने सहमति यस अघि गरेका थिए ।

निर्धारित समयभन्दा दुई घण्टा ४५ मिनेटपछि सुरू भएको आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश नगरी बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । संविधानसभाको आजको ८८ औं बैठक सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रारम्भ भएको घोषणा गर्नासाथ विवादित विषयमा प्रश्नावली बनाउन प्रस्ताव निर्माण समिति गठनको प्रस्ताव प्रस्तुत हुन नपाउँदै वेल घेराउ र नारावाजी सुरू भएको थियो । बैठकमा नेपाली काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले संविधानसभा नियमावली, २०७० को नियम ९१ बमोजिम सो समिति गठन गर्न प्रस्ताव राख्ने र नेकपा (एमाले) का प्रमुख सचेतक अग्निप्रसाद खरेलले समर्थन गर्नुहुने कार्यसूची रहेको थियो ।

बैठकको कार्यबाही सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल एमाओवादी र मधेसवादी दलका सभासद्ले रोष्ट्रममा जान लाग्नुभएका मुख्य सचेतक श्रेष्ठलाई बीचमै समातेर रोक्नुभएको थियो । यसपछि ती विपक्षी दलका सभासद्ले आफ्नो स्थानबाट उठी लगातार वेलमा घेराउ र नारावाजी सुरू गर्नुभयो । दिउँसो १ बजेका लागि निर्धारण गरिएको सो बैठक २ः४५ मा प्रारम्भ भएको थियो भने लगातारको नारावाजी ४ः१८ बजेसम्म जारी रह्यो ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता पनि वेलमा पुगी नारावाजीमा सहभागी हुनुभएको थियो ।

सभासद्हरूले ‘सहमतिविना संविधान जारी गर्न पाइँदैन’, ‘संविधानसभाको हत्या गर्न पाइँदैन’, विसं. २०४७ को संविधान चाहिँदैन’, ‘नियम मिच्न पाइँदैन’ आदि नारा लगाउनुभएको थियो भने सरकारपक्षीय दलका सभासद्हरू आफ्नो स्थानमा बसी सुनिरहनुभएको थियो ।

सभाध्यक्ष नेम्वाङले बैठकको कार्यबाही सञ्चालनमा सहयोग पु¥याउन आशन ग्रहण गर्न नारावाजी गरिरहेका सभासद्लाई पटक पटक आग्रह गर्नुभएको थियो । आशनग्रहण नगरी बैठकको कार्यबाही सञ्चालन हुन नसक्ने र संविधान निर्माणको प्रक्रिया अघि बढ्न नसक्ने भन्दै उहाँले अवरोधको स्थिति अन्त्य गर्न आग्रह गरिरहनुभएको तर उहाँको सो आग्रह आउँदा नारावाजी झन् चर्काे हुने गरेका थिए । नारावाजीकै बीचबाट अध्यक्ष नेम्वाङ्ले बुधबारसम्म बैठक स्थगित गरेपछि पनि विपक्षी सभासद्हरू नारावाजी गर्दै बैठकस्थलबाट बाहिरिनुभएको थियो ।

गएराति विपक्षी दलका सभासद्को अवरोध र तोडफोडको घटनाका कारण आजको बैठकमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । मर्यादापालकहरूको चारवटा घेरा (हातेसाङ्लो) बनाइएको थियो । पहिलो घेरामा सत्तापक्ष रहने सभासद्लाई सुरक्षा दिइएको थियो भने दोस्रो र तेस्रो घेराले सभासद्लाई रोष्ट्रमतर्फ अघि नबढ्न रोक लगाएको थियो । चौथो घेराले सभाध्यक्षभन्दा अघिल्तिर सुरक्षा दिएको थियो ।

नारावाजीकै बीचमा पनि एमाओवादीका अध्यक्ष दाहाल अन्य नेतासँग कानेखुसी गर्दै मुस्काइरहनु भएको दृष्य देखिन्थ्यो भने कतिपय सभासद्ले आफ्नै आन्दोलनको दृष्य मोबाइलमा कैद गरिरहनुभएको थियो । कतिपय सभासद्ले एसएमएस गरिरहनुभएको थियो भने कतिपयले गएरातिको निद्राका कारणले होला हाईगर्दै नारा लगाउनुभएको थियो ।

बैठक स्थगनपछि बाहिरिने क्रममा नेकपा—एमालेका नेता माधवकुमार नेपालले संविधानसभालाई बेकम्मा बनाई ‘अनावश्यक’ नारा नलगाउन र बखेडा नझिक्न एमाओवादी र मधेसवादी दललाई आग्रह गर्नुभयो ।

नेता नेपालले गएरातिको घटनाबाट एमाओवादीले गल्ती स्वीकार गर्नुपर्छ, क्षमा माग्नुपर्छ र अबदेखि यस्तो गर्दिन भनेर जनताका सामु प्रतिवद्धता जनाउनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘सहमतीय प्रक्रियाबाट संविधान निर्माण गर्ने बाटो रोकिएको छैन, सहमतिका लागि पनि प्रक्रियामा जान आवश्यक छ । यसको अवरोध गर्न भएन ।’

एमाओवादीले सहमति चाँही भन्ने तर सहमतिमा नआउने काम गरिरहेको आरोप लगाउँदै नेपालले संविधानका अन्तरवस्तुमा काँग्रेस र एमालेले हदैसम्मको लचकता देखाएको उल्लेख गर्नुभयो ।

एमाओवादीका नेता डा भट्टराईले आफूहरू अहिले पनि सहमतिकै लागि तयार रहेको भन्दै सत्तापक्षको बलमिचाँइका कारण गएरातिको घटना भएको बताउनुभयो ।

उहाँले सत्तापक्षले जबर्जस्ती बलमिचाँई र अलोकतान्त्रिक शैलीमा संविधान निर्माणमा लागेकाले आफूहरूले त्यस्तो कार्य रोक्न सदनमा नारावाजी गर्न बाध्य भएको बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement