advertisement
Send Us

बन्दमा प्रेसमाथि भएको आक्रमणप्रति पत्रकार महासङ्घको निन्दा

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, ६ माघ । नेपाल पत्रकार महासङ्घले एकीकृत नेकपा (माओवादी) सहितका संविधानसभाका प्रतिपक्षी दलहरूसम्वद्ध मोर्चाको आह्वानमा आज भएको बन्दमा पे्रसलाई लक्षित गरी आक्रमणप्रति निन्दा गरेको छ ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जारी गरेको प्रेस विज्ञप्तिमा प्रेसलाई लक्षित गरी सवारी साधन तोडफोड गर्ने, पत्रकारलाई धम्की दिने तथा दुव्यवहार गर्नुका साथै कान्तिपुर दैनिकको पत्रिका लिएर गएको बा ३ च ५८५० नम्बरको गाडी, कान्तिपुर दैनिककै न्यूजप्रिन्ट बोकेर वीरगञ्जबाट भरतपुर आउँदै गरेको ना ३ ख ३५८६ नम्बरको ट्रक चितवनको भरतपुरमा आगजनी गरेको प्रति भत्र्सना गरिएको छ ।

त्यस्तै, महासङ्घले बन्दकर्ताले बबरमहलमा माउन्टेन टेलिभिजनको वा ९ च १९३३ नम्बरको गाडी तोडफोड गर्नुका साथै उक्त टेलिभिजनका क्यामेरापर्सन सृजना कुँईकेल र सम्वाददाता शर्मिला थापालाई दुव्र्यवहार गरेको, सोही टेलिभिजनको समाचार प्रमुख सूर्य खड्का, प्रस्तोता रोहित भण्डारी र चालक रुपक श्रेष्ठमाथि कार्यालय आउँदै गरेको अवस्थामा आक्रमण गरेकोप्रति विरोध गरेको छ ।

साथै, बन्दकर्ताले समाचार सङ्कलनका क्रममा बबरमहलमै राष्ट्रिय समाचार समिति सम्वाददाता भीष्म ओझालाई हातपात, गालीगलौज गर्दै भ्वाईस रेकर्डर नियन्त्रणमा लिएको, एसोसिएट प्रेसका पत्रकार उपेन्द्रमान सिंह र हिमाल खबरपत्रिकाकी फोटो पत्रकार देवकी विष्ट र न्यूज अभियानका प्रधानसम्पादक छायाँचन्द्र भण्डारीमाथि वन्दकर्ताले दुव्र्यवहार भएको घटनाप्रति पनि महासङ्घले निन्दा गरेको छ ।

यसैबीच, मानव अधिकार पत्रकार सङ्घ (हुर्जा) ले एनेकपा माओवादीलगायतको ३० दलीय मोर्चाले गरेको नेपाल बन्दका क्रममा देशका विभिन्न ठाउँमा समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका अध्यक्ष छत्र शङ्करले जारी गरेको प्रेस विज्ञप्तिमा बन्दका क्रममा घाइते पत्रकारको उपचार तथा क्षति भएको भौतिक साधनको क्षतिपूर्ति दिनसमेत सम्बन्धित पक्षसँग माग गर्नुका साथै जुनसुकै परिस्थितिमा पनि पत्रकार सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement