advertisement
Send Us

उपभोक्ता मुद्रास्फीति सात प्रतिशत, सरकारी बजेट बचतमा, चालु खातामा बचत बढेन

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, ३ माघ । नेपाल राष्ट्र बैंकले गत मङ्सिरमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशत रहेको तथ्य आज सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७१÷७२ को प्रथम पाँचमहिनाको तथ्याङ्मा आधारित भएर सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.३ प्रतिशत थियो ।

समीक्षा अवधिमा वार्षिक विन्दुगतआधारमा खाद्य तथा पेय पदार्थ समूहको
मूल्य सूचकाङ्क वृद्धिदर ९.८ प्रतिशत रहेको तथा गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर ४.८ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मूल्य सूचकाङ्क क्रमशः १४.५ प्रतिशत र ६.७ प्रतिशतले वृद्धि भएको थियो ।

त्यसैगरी नगद प्रवाहमा आधारित सरकारी बजेट रु. ४६ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट रु. ३८ अर्ब ४१ करोडले बचतमा थियो । स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून रहेकाले सरकारी बजेट बचतमा रहेको हो ।

राजस्व २२.७ प्रतिशतले वृद्धि भई रु. १४२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १९.० प्रतिशतले वृद्धि भई रु. ११५ अर्ब ८४ करोड पुगेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७१÷७२ को पाँच महिनासम्ममा नेपाल सरकारलाई वैदेशिक नगद ऋणवापत् रु. ४ अर्ब ८० करोड र वैदेशिक नगद अनुदानवापत रु. ११ अर्ब ९६ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ती शीर्षकहरुमा क्रमशः रु. १० अर्ब र रु. १४ अर्ब ९२ करोड प्राप्त भएको थियो ।

कुल वस्तु आयात १७.८ प्रतिशतले बढेर रु. ३१८ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.९ प्रतिशतले वृद्धि भई रु. २७० अर्ब ३५ करोड रहेको थियो । समीक्षा अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रासको कारण पेट्रोलियम आयातको वृद्धिदर न्यून रहेकोले समग्र आयातको वृद्धिदर केही कम रहन गएको हो ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २०.९ प्रतिशतले वृद्धि भई रु. २८१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २१.० प्रतिशतले बढेको थियो । कुल वस्तु व्यापार घाटामध्ये समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः १७.८ प्रतिशत, ३९.३ प्रतिशत र १९.२ प्रतिशतले बढेको प्रतिवेदनमा जनाइएको छ ।

आर्थिक वर्ष २०७१÷७२ को पाँच महिनासम्ममा समग्र शोधनान्तर स्थिति रु. २३ अर्ब ३५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ६८ अर्ब दुई करोडले बचतमा थियो । अघिल्ला महिनाहरुसम्म घाटामा रहेको चालू खाता समीक्षा अवधिमा रु. तीन अर्ब ६१ करोडले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा यो खाता रु. ५० अर्ब ३५ करोडले बचतमा रहेको थियो । वस्तु तथा सेवा आयात उच्च दरले बढ्नु, अनुदान रकम घट्नु र विप्रेषण आप्रवाह न्यून दरले बढ्नाले चालू खाता समीक्षा अवधिमा न्यून बचतमा रहन गएको हो ।

गत मङ्सिर मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०७१ असार मसान्तको रु. ६६५ अर्ब ४१ करोडको तुलनामा ५.५ प्रतिशतले वृद्धि भई रु. ७०२ अर्ब १२ करोड पुगेको छ ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७१ असार मसान्तको रु. ५७२ अर्ब ४० करोडको तुलनामा २०७१ मङ्सिर मसान्तमा ३.८ प्रतिशतले वृद्धि भई रु. ५९४ अर्ब २२ करोड पुगेको छ । अमेरिकी डलरमा भने बैकिङ्ग क्षेत्रको कुल सञ्चिति २०७१ असारदेखि २०७१ मङ्सिर मसान्तसम्ममा १.८ प्रतिशतले बढी अमेरिकी डलर ७ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको पहिलो पाँच महिनामा यस्तो सञ्चिति १२.४ प्रतिशतले बढेको थियो । त्यसैगरी, समीक्षा अवधिमा अपरिवत्र्य भारतीय मुद्रा सञ्चिति ११.४ प्रतिशतले वृद्धि भई भा.रु. १०५ अर्ब ८० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति २१ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७१÷७२ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले ११.३ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुृने केन्द्रीय बैंकले जनाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement