advertisement
Send Us

आन्दोलन हैन शान्ति र विकास वर्तमान आवश्यकता : प्रधानमन्त्री

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १ माघ । प्रधानमन्त्री सुशील कोइरालाले देशमा आन्दोलन नभएर शान्ति र विकास प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

माघे सङ्क्रान्तिका अवसरमा नेपाल मगर सङ्घद्वारा आज राजधानीको खुलामञ्चमा आयोजित मगर–माघेसङ्क्रान्ति समारोहमा उहाँले नेपालमा ठूला–ठूला परिवर्तन भए पनि अझै स्थिरता तथा स्थायित्व प्राप्त नगरेका कारण शान्ति र विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

देशमा अमनचयन र शान्ति कायम गराउन अब कसैले पनि खेलबाड गर्न नहुनेमा उहाँको जोड थियो ।

“नेपालमा परिवर्तन निकै चाँडोचाँडो भएका छन् । देशको विकासका लागि जति सङ्घर्ष भए पनि जनताले अमनचयन, शान्ति र विकासको अनुभूति प्राप्त गर्न सकेका छैनन् ।”– उहाँले भन्नुभयो ।

परिवर्तनले नेपालका प्रत्येक आदिवासी जनजातिका हकअधिकारलाई सुरक्षित गरेको चर्चा गर्दै उहाँले प्राप्त भएका अधिकारलाई अब कोही कसैले खोस्न नसक्ने उल्लेख गर्नुभयो ।

विसं २०६२÷०६३ को परिवर्तन कुनै सामान्य परिवर्तन नभएकोमा जोड दिँदै प्रधानमन्त्रीले यो परिवर्तनलाई जोगाउनु वर्तमानको प्रमुख आवश्यकता भएको पनि बताउनुभयो ।

जलस्रोत, पर्यटनलगायतका विभिन्न सम्भावनालाई उपयोग गरी देशलाई समृद्ध राष्ट्रका रुपमा स्थापित गर्नुपर्नेमा कोइरालाको जोड थियो ।

देशमा महत्वपूर्ण अवसर सिर्जना भएको स्मरण गराउँदै उहाँले पछिल्लो समयमा जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा लगानीको क्रम बढ्नुले पनि विकासका सम्भावनालाई अघि बढाएको उहाँले बताउनुभयो ।

रोजगारी र अवसरको खोजीमा विदेशिएका युवालाई स्वदेशमा नै आकर्षित गर्ने वातावरण तयार गर्नुपर्नेमा उहाँको जोड थियो ।

देशमा शान्ति र लोकतन्त्रका लागि आफूहरु अधिकतम लचक भएको जानकारी गराउँदै प्रधानमन्त्री कोइरालाले यस क्रममा आन्दोलनका धम्कीहरु आइरहेको उल्लेख गर्नुभयो ।

दिगो शान्ति र लोकतन्त्रका लागि सरकारले मात्र गरेर नहुने हुँदा त्यसमा सबैको सकारात्मक सहयोग आवश्यक हुनेमा उहाँको जोड थियो ।

नेपाल मगर सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले राज्यका विभिन्न अवसरबाट वञ्चित भएका जातजाति भाषाभाषीका अधिकारलाई निर्माणाधीन संविधानमा सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।

नेपाल मगर सङ्घका उपाध्यक्ष श्याममाया पुनमगरले पहिचान र अस्तित्वको खोजीमा नेपालका आदिवासी जनजाति भौंतारिनु परेको वास्तविकतालाई आत्मसात् गरी निर्माणाधीन संविधानमा उनीहरुका हकअधिकारलाई सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीले सिजम सिजाली मगरको गीति एल्बम एवम् मगर महिला सङ्घ काठमाडौँको मुखपत्र पनि विमोचन गर्नुभएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement