advertisement
Send Us

बुधबार निर्णायक छलफल गर्ने सत्तारुढ दलको निर्णय

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २२ पुस । नेपाली काँग्रेस र नेकपा(एमाले)ले एकीकृत नेकपा(माओवादी) र मधेसवादी दलसँग संविधानका विवादित विषयमा निर्णायक र अन्तिम छलफल गर्ने निर्णय गरेका छन् ।

दुई दलले सहमतिको प्रक्रिया अगाडि बढ्न नसकेको खण्डमा प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा सहमतिका लागि भन्दै अब धेरै समय पर्खन नसकिने ठहर गर्दै बुधबार बिहान एमाओवादी नेतृत्वको मोर्चासँग निर्णायक छलफल गर्ने निर्णय गरेको एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

दुई दलको छलफलमा जातीय आधारमा राज्यको पुनःसंरचना हुन नसक्ने र हिमाल पहाड र तराईलाई छुट्टयाउनेबाहेक अन्य विषयमा सहमति गर्न तयार रहनुपर्नेमा जोड दिइएको थियो ।

मुलुकको सार्वभौमसत्ता र अखण्डताविपरीत सामाजिक सद्भाव बिथोल्ने गरी राज्यको पुनःसंरचना गर्न नसकिने तर सबै जातजाति र वर्गलाई अधिकार सम्पन्न गराउनेतर्फ विशेष ध्यान दिँदै सहमति गर्न दुई दल तयार रहेको समेत नेता खनालले बताउनुभयो ।

सहमतिमा नै संविधान जारी गर्नका लागि हदैसम्म प्रयत्न गर्दासमेत एमाओवादी र मधेसवादी दल तयार नभए प्रक्रियामा गएर निलम्बन गरेरै भएपनि आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने तयारी गर्नुपर्ने निष्कर्ष निकालिएको उहाँको भनाइ छ ।

बैठकमा एमाओवादी नेतृत्वले सोमबार चार दलको बैठकमा पेस गरेको नौबुँदे प्रस्तावका बारेमा समेत छलफल भएको बताइएको छ । बैठकपछि नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले अन्तिम र निर्णायक छलफल गर्ने विषयमा दुई दलको समान धारणा बनेको जानकारी दिनुभयो ।

‘‘अब मिल्ने विषय के, नमिल्ने विषय के भनेर ठोस गरेर छलफल केन्द्रित गर्नु पर्दछ । सहमतिको नाममा समय खेर फालेर बस्ने समय छैन । सहमति नभए प्रक्रियामा जानुको विकल्प छैन’’ नेता खड्काले भन्नुभयो ।

एमाओवादी नेतृत्वको मोर्चाले पेस गरेको नौबुँदे अवधारणा पुरानै भएको भन्दै त्यसलाई सच्याएर ल्याए छलफल हुने समेत दुई दलले निष्कर्ष निकालेका छन् । छलफलमा आज बिहान काँगे्रस र एमाओवादी तथा मधेसी मोर्चासँग भएको छलफलका बारेमा काँग्रेसले एमालेलाई जानकारी गराएको थियो ।

दुई दलले सहमतिका लागि कुन विषयमा लचक हुने र कुन विषयमा अलि बढी छलफल गर्नुपर्ने हो त्यसको समेत टुङ्गो लगाएको भएपनि त्यो के हो भन्ने बारेमा भने नेताहरुले कुनै पनि जानकारी दिनुभएन । बैठकमा काँग्रेस र एमालेका शीर्ष नेताको सहभागिता रहेको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement