advertisement
Send Us

पुँजी बजारको विकासका लागि सरकार क्रियाशील–मन्त्री महत

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २९ पुस । अर्थमन्त्री डा रामशरण महतले मुलुकको पुँजी बजार विकासको क्रममा रहेको बताउँदै त्यसको स्वस्थ प्रगति एवम् स्थायित्वका निम्ति सरकार क्रियाशील रहेको स्पष्ट गर्नुभएको छ ।

नेपाल स्टक एक्सचेञ्जको २२ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले पुँजी बजारको विकास सोचेअनुरुप भइनसकेकाले त्यसको प्रवद्र्धनमा सरकारले सघाउने बताउनुभयो ।

दिगो पुँजी परिचालन आवश्यक भएको विचार व्यक्त गर्दै मन्त्री महतले जलविद्युत्को क्षेत्र पुँजी निर्माणको आशालाग्दो क्षेत्र भएको उल्लेख गर्नुभयो ।

उहाँले लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको जानकारी दिँदै निजी क्षेत्रले पनि लगानी बढाएर पुँजी बजारलाई स्वस्थ एवम् सुदृढ पार्नुपर्छ भन्नुभयो ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले पुँजी बजारको स्तरोन्नति सदृढ, भौतिक संरचना निर्माण र दक्ष जनशक्तिसहितको आधुनिकीकरणको आवश्यकता औँल्याउनुभयो ।

राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले धितोपत्र बजार शेयरबाट मात्र सञ्चालन गर्न उपयुक्त नहुने विचार व्यक्त गर्दै निजी क्षेत्रका ठूला कम्पनीलाई पनि त्यसमा समाहित गर्नुपर्छ भन्नुभयो ।

स्टक एक्सचेन्ज अध्यक्ष नवराज भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सोही कार्यालयका महाप्रबन्धक सीताराम थपलियाले पुँजी बजार विकास र लगानीकर्ताहित संरक्षणमा स्टक एक्सचेन्ज लागिपरेको बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement