advertisement
Send Us

हवाईजहाजमा बसेर वार्ता गर्ने हो भनेपनि हामी तयार छौं

Click Link to Send:
Click Link to Send:

bam dev gautamकाठमाडौ, १० फागुन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एकीकृत नेकपा माओवादीसहितको विपक्षी मोर्चा १६ फागुनसम्म पनि वार्तामा नआए प्रक्रियामा गएर संविधान जारी गर्ने बताएका छन् ।

तत्काल वार्ता र संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माणको लागि रिपोर्टर्स क्लब नेपालले सुरु गरेको दबाब अभियान अन्र्तगत आईतबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझ्दै आफूहरु सधै कुरेर बस्न सक्ने अवस्थामा नभएको बताए ।

‘हामी अझै वार्ताबाट समस्याको हल निकालौं भन्ने पक्षमा छौं,’ नेकपा एमालेका उपाध्यक्षसमेत रहेका गौतमले भने,‘हामी यतिसम्म लचिलो हुँदासमेत कमजोरी ठानिन्छ भने देशलाई सधै अनिर्णयको बन्दी बनाउन सकिदैन प्रक्रियाबाटै संविधान जारी हुन्छ ।’

वार्ताका लागि अझै केही समय कुर्ने स्पष्ट पार्दै त्यसपछि पनि संविधानसभाबाट भाग्न निहुँ खोजिरहे वार कि पार ढंगले अगाडि बढ्ने बताए । माओवादीले भनेजस्तो वार्ता सशर्त हुननसक्ने स्पष्ट पारे । उनले भने,‘वार्ता भयो भने निशर्त हुन्छ, सशर्त हुँदैन ।’ संविधानसभाको एजेण्डा आफूहरुको भन्नेहरुले शर्त राखेर निहुँ खोज्नुले गम्भीर आशंका जन्माएको बताए ।

संविधानसभालाई असफल पार्ने षड्यन्त्रहरु भइरहेको भन्दै त्यसलाई कदापि सफल हुन नदिने बताए । उनले भने,‘संविधानसभालाई असफल बनाउन खोज्नेहरु आफै असफल हुनेछन् ।’

जतिसक्दो छिटो संविधान जारी होस् भन्ने पक्षमा नेपाली जनता रहेको भन्दै त्यसमा अवरोध सृजना नगर्न चेतावनी दिए । उनले भने–‘नेपाली जनतालाई लामो समयसम्म संविधान विहीन अवस्थामा राख्न सकिदैन । अझै पनि निहुँ खोजेर संविधानसभाबाट भाग्न
खोज्ने हो भने पर्खिएर बस्न सकिदैन । प्रक्रियामा गएर भएपनि संविधान जारी गर्छौ ।’

वार्ताको समय र स्थान समेत खुल्ला राखेको बताउँदै जहाँ जुनसुकै समयमा वार्ताका लागि तयार रहेको बताए । उनले भने,‘ मध्यरात, हवाई जहाजमा, प्रचण्डको घरमा जहाँ पनि वार्ता गर्न तयार छौं ।’

विगतमा आफू रोल्पा गएर ६ बुँदे सम्झौता गरेको, त्यसको जगमा १२ बुँदे, विस्तृत शान्ति सम्झौता गराएको, काग्रेसलाई समेत गणतन्त्रमा ल्याएको र पुर्नस्थापित संसदमा समेत एमाले जत्तिकै हैसियत दिएको बताए । एमाओवादीले अहिले पनि बार्गेनिङ्ग गरिरहेको भन्दै आलोचना गरे ।

संविधान निर्माणमा अनावश्यक निहुँ खोज्नु आफूहरुलाई मान्य नहुने बताए । सत्तारुढ दल वार्ता विरोधी छन् भनी विपक्षी मोर्चाको आरोपबारे सोधिएको प्रश्नमा उनले भने,‘वार्ताको आव्हान गर्ने विरोधी हुनै सक्दैन ।’ आफूहरुमाथि संविधानसभाभित्र आक्रमण भईरहेको बेला ज्यान बचाउन तिर लाग्ने कि बार्ता गर्ने भनि प्रश्न गर्दै उनले त्यो बेलाको परिस्थिति मनन नगरी बार्ता गरेनन् भनेर आरोप लगाउनुको तुक नभएको बताए ।

गौतमले भने,‘संविधानसभाभित्र संविधानसभा अध्यक्ष, प्रधानमन्त्री, एमाले अध्यक्षसहित हामीमाथि आक्रमणको प्रयास भईरहेको बेला ज्यान बचाउन लाग्ने कि वार्ता गर्ने ? यो कुरा नेपाली जनताले पनि थाहाँ पाउन भनेर हामीले वार्ता स्थगित गरेका थियौं ।’ निश्कर्ष निकाल्न, तर्क र बहस गर्न वार्ता हुनुपर्नेमा पहिलानै निश्कर्ष खोजेकोले वार्ता हुन नसकेको दाबी गर्दै आफुहरुले वार्ताबाट निकास निकाल्नकै लागि संविधानसभा समेत स्थगित गरेको स्मरण गरे ।

तराई र पहाडलाई नछुट्याई नेपाललाई एकीकृत बनाएर विकासमा अघि बढ्ने संघीयताको पक्षमा आफूहरु रहेको स्पष्ट पार्दै उनले नेपालको चार किल्लालाई छिन्न भिन्न बनाउने गरी संघीयतामा जाने कुरा कुनै पनि हालतमा मान्य नहुने दावी गरे ।

गौतमले भने,‘बहुपहिचान हाम्रो पहिचान हो । १२५ जातीको राज्य बनाउन सकिदैन । यी बाहेक हामी सबै कुरामा सहमति गर्न तयार छौ ।’ जातीय राज्यले मुठभेड हुन्छ भन्दा आफूहरुमाथि संविधानसभामा आक्रमण भएको बताए । जातीय राज्य बनाउन खोज्नुभित्रको नियत खतरनाक रहेको भन्दै त्यो सफल नहुने बताए । मिलेर बसेका नेपाली जनतालाई अझै एकतावद्ध गराएर विकसित नेपाल बनाउने गरी राज्य पुर्नसंरचना हुनुपर्नेमा जोड दिए ।

एमाओवादीले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्दा पहिलो संविधानसभा असफल भएको आरोप लगाउदै उनले भने–‘दोस्रो संविधानसभाबाट पनि संविधान जारी गर्न नदिने षडयन्त्र भईरहेको छ । यो संविधानसभाले संविधान जारी गर्छ । एमाले र काँग्रेसले पाएको ऐतिहासिक जिम्मेवारी पुरा गरी छाड्छ ।’

संविधान जारी गरीछाड्ने भन्दै त्यसविरुद्ध लाग्नेहरु आफै असफल हुने बताए । संविधानसभाको निर्वाचन लगत्तै चुनाव निष्पक्ष भएको भनेर सबैलाई धन्यवाद दिएका प्रचण्डले आफ्नो पार्टी पराजित हुन थालेपछि संस्थागत धाधँली भनेर अनावश्यक माग राखेर संविधानसभालाई अवरुद्ध गर्न खोजेको स्मरण गराउँदै गौतमले त्यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा समेत बाबुराम भट्टराईले संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने ४० बुँदे आधारहिन माग राखेको आरोप लगाए ।

उनले भने–‘संविधानसभबाट संविधान जारी गर्न नदिने एमाओवादीको हर्कत प्रमाणित भैसकेको छ, यो कुरा हामीले बुझेका छौं । यो जिम्मेवारी हामी पूरा गरेरै छाड्छौं ।’

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ज्यानको खतरा रहेको भनि दिएको अभिब्यक्तिको विषयमा सरकार सुरक्षा दिन तयार रहेको भन्दै प्रयाप्त सुरक्षा रहेकोले थोरै पनि आँच आउन नदिने स्पष्ट पारे । उनले भने,‘सरकार एमाओवादी अध्यक्ष प्रचण्डमाथि सुरक्षा खतरा हुन नदिन चनाखो छ ।’

उनले प्रचण्डको सुरक्षाको विषयमा सरकारले नै रिपोर्टिङ्ग गरिरहेको समेत बताए । गौतमले शान्ति, सहमति र एकताको पक्षमा ऋषि धमलाले खेलेको भूमिकाको प्रशंशा गरे । नेपाली जनतालाई समसामयिक राजनीतिक गतिविधिबारे सूसुचित हुन सक्रियताको समेत प्रशंशा गर्दै सबै नेपालीले संविधान निर्माण प्रक्रियालाई सार्थक बनाउन आफ् आफ्नो स्थानबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

संवाद, सहमति र एकताबाटै संविधान निर्माण प्रक्रियामा अड्किएको हलो निस्कने भन्दै सबैले त्याग देखाउनुपर्नेमा जोड दिए । देशले द्वन्द्व थेग्न नसक्ने भन्दै नेपाली जनताले दिएको म्याण्डेट अनुसार संविधानसभाबाटै संविधान जारी गरी देशलाई आर्थिक क्रान्तिको दिशातर्फ बढाउनुपर्ने बताए ।

Your Opinion

Opinion

advertisement
advertisement