दमौली, ९ फागुन । फजुल खर्च कम गर्ने उद्देश्यले गाउँ सेवा कोष तनहुँद्वारा शुक्रबार दमौलीस्थित व्यास क्षेत्र शिव पाञ्चायन मन्दिरमा ४० बटुकको सामूहिक व्रतबन्ध गराएका छन् ।
मूल पुरोहित कृष्णकान्त काफ्ले र अन्य सहायक तीन पुरोहितले बटुकहरूको व्रतबन्ध गराएका हुन् ।
पहेँलो वस्त्रमा सजिएका बटुकलाई भिक्षा दिन उनीहरूका आफन्तजनको कार्यक्रममा ठूलो सङ्ख्यामा उपस्थिति रहेको गाउँ सेवा कोषले जनाएको छ ।
प्रतिबटुक रु २५० लिई अन्य पूजा र प्रसादका सामग्री कोषले नै खर्च गर्ने गरी उनीहरूको व्रतबन्ध गराएको हो ।
विसं २०४३ देखि उक्त कोषले न्युन शुल्कमा बटुकको सामूहिक व्रतबन्ध गराउँदै आएको कोषका अध्यक्ष गिरेन्द्रबहादुर अधिकारीले बताउनुभयो । कोषले अहिलेसम्म दुई हजारभन्दा बढी बटुकको व्रतबन्ध गराइसकेको जानकारी उहाँले दिनुभयो ।