advertisement
Send Us

ढिलै भए पनि लोकतान्त्रिक संविधान जारी हुन्छ –प्रधानमन्त्री कोइराला

Click Link to Send:
Click Link to Send:

pmकाठमाडौँ, २७ माघ । प्रधानमन्त्री सुशील कोइरालाले ढिलै भए पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूका लागि आयोजित तीनदिने प्रशिक्षण उद्घाटन समारोहमा उहाँले मुलुक र जनताको हितका लागि आफूहरू लचकताका साथ सहमतिको बाटोमा आएको उल्लेख गर्दै आन्दोलनमा उत्रिएका अन्य दललाई पनि सहमतिमा आउन आग्रह गर्नुभयो ।

‘कोष निर्माण, व्यवस्थापन र नेतृत्व विकास’ विषयक सो प्रशिक्षणमा प्रधानमन्त्री कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा प्रजातन्त्र विरोधी शक्तिहरू आफैँ समाप्त भएर गएको इतिहास साक्षी रहेको चर्चा गर्दै ‘‘मुलुकको स्थायित्व र आर्थिक उन्नतिका लागि संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प छैन’’ भन्नुभयो ।

‘‘यही माघ ८ गते संविधान नआउनुको कारण र कारक नेपाली जनता तथा अन्तर्राष्ट्रिय समुदायले थाहा पाइसकेका छन्’’ नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘‘कठिन परिस्थितिमा पनि काँग्रेसले लोकतन्त्रका लागि सौहाद्रतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ, कहिल्यै हार खान नपरेको छैन ।’’

पूर्व प्रधानमन्त्री एवम् नेता शेरबहादुर देउवाले अघिल्लो संविधानसभामा नेपाली काँग्रेस सानो दल भएकैले संविधान जारी हुन नसकेको तर अहिले आफूहरूसँग दुई तिहाई बहुमत भएकाले संविधान निर्माण गर्ने दायित्व र जिम्मेवारी थपिएको बताउनुभयो ।

संविधान निर्माण गर्दा कसैको जित र हार नहुने भएकाले सकेसम्म सबैको भावना समेट्न प्रयास गरिने बताउँदै उहाँले भन्नुभयो– ‘‘अन्तिम समयसम्म पनि सहमतिका लागि विपक्षी दलसँग प्रयास गर्ने नभए प्रक्रियामा जानुको विकल्प छैन ।’’

उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणमा एनेकपा (माओवादी) र मधेसवादी दल कर्तव्यबाट विमुख भएकाले संविधान निर्माणमा कठिनाइ आएको र यस्तै प्रक्रिया रहिरहे ती दल आफैँ विलय हुँदै जाने बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले सबै दललाई मिलेरै संविधान निर्माणमा सहयोग पुर्‍याउन आग्रह गरिसक्नुभएको र आम जनतालाई स्वीकार्य हुने गरी संविधान निर्माणको तयारी भएकाले आनाकानी नगरी सहमतिमा आउन आन्दालनरत् दलहरुलाई उहाँले आग्रह गर्नुभयो ।

महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको आगामी तेह्रौँ महाधिवशेनमा सबै कार्यकर्तामा एकता र समझदारीको आवश्यकता भएको उल्लेख गर्नुभयो । जनतालाई संविधान दिन दोस्रोपटक संविधानसभा निर्वाचनमा गरिएको दृढ सङ्कल्प खेर जान नदिन दलहरूबीच सहमति हुन नसके संविधान निर्माणका प्रक्रियालाई रोकेर राख्न नहुने उहाँले बताउनुभयो ।

शिक्षामन्त्री तथा पार्टीका कोषाध्यक्ष चित्रलेखा यादवले प्रशिक्षण कार्यक्रमले कोष व्यवस्थापन गर्न तथा सङ्गठनलाई चुस्त र दुरुस्त बनाउन क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न पनि आग्रह गर्नुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement