advertisement
Send Us

क्रियाशील सदस्यता विवादले जाजरकोट काँग्रेसमा फुट

Click Link to Send:
Click Link to Send:

congress_flagजाजरकोट, २५ माघ । क्रियाशील सदस्यता वितरणको विवादले जाजरकोट काँग्रेसमा फुट देखिएको छ । सदस्यता वितरणमा एकपक्षीय भएर काम गरेको भन्दै पूर्व सभापति झलकनाथ वाग्ले, सनतकुमार कार्की तथा सभासद् राजीवविक्रम शाहलगायतका नेताहरुले असन्तुष्टि जनाएपछि विवाद चुलिएको हो ।

पार्टीको विधानअनुसार सदस्यता वितरण नगरेर सभापति दीपकजङ्ग शाह र उनी पक्षका नेताहरुले एकपक्षीय रुपमा सदस्यता फाराम भराउने गरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । बाह्रौँ महाधिवेशनका बेला पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भएर विभाजित भएका काँग्रेसी नेताहरु अहिले भने व्यक्तिगत समूह बनाएर विभाजित भएका छन् ।

क्रियाशील सदस्यता वितरणमा सभापति दीपकजङ्ग शाहले विधान विपरीत काम गरेको भन्दै असन्तुष्टहरुले केन्द्रीय कार्यसमितिमा समेत उजुरी दिएको बताएका छन् । क्रियाशील सदस्यता आफ्ना पक्षकालाई मात्र भराउने, पार्टीमा लामो समय त्याग र बलिदान गरेकालाई पूर्वाग्रहका आधारमा फाराम भर्न नदिने र एकलौटी ढङ्गले पार्टी चलाउने काम गरेकाले शाहका विरुद्धमा केन्द्रमा उजुरी दिनुपरेको काँग्रेस खलङ्गा गाउँ कार्यसमितिका सभापति रामजङ्ग शाहले बताउनुभयो ।

दीपकजङ्ग शाहले पार्टी सभापति भएर जिम्मेवारी सम्हालेदेखि सङ्गठन कम्जोर भएको तथा कार्यकर्ताहरुमा नैरास्यता छाएको शाहले आरोप लगाउनुभयो । उता सभापति दीपकजङ्ग शाहले भने पार्टीको विधानअनुसार सदस्यहरुलाई क्रियाशील सदस्यता फाराम भराएको र भर्न छुटेकाहरुले केन्द्रमा निवेदन दिएर भर्न सक्ने बताउनुभयो । उहाँले संविधानसभाको चुनावमा पार्टीलाई असहयोग गर्नेहरुको सदस्यता भने नभराएको उल्लेख गर्नु भयो ।

पार्टीको विधान विपरीत चुनावमा उम्मेदवारलाई हराउन लाग्नेहरुको सदस्यता कुनै पनि हालतमा नभर्ने उहाँले बताउनुभयो । उहाँले पार्टीमा असहयोग गरेको आरोप पूर्व मन्त्री झलकनाथ वाग्ले र सनतकुमार कार्की र खलङ्गा गाउँ कार्यसमितिका सभापति रामजङ्ग शाहलाई लगाउनुभयो ।

पार्टीको जिल्ला अधिवेशनमा एउटै प्यानलमा रहेका सभासद् राजीवविक्रम शाह र सभापति दीपकजङ्ग शाह अहिले पानी बाराबारको स्थितिमा छन् भने पहिला पानी बाराबारका अवस्थामा रहेका पूर्व सहायक मन्त्री झलकनाथ वाग्ले र सभासद् शाह एउटै समूहमा रहेका छन् ।

Your Opinion

Opinion

advertisement
advertisement