advertisement
Send Us

सार्थक वार्ता शीघ्र सुरु गर्न दलहरुलाई प्रधानमन्त्रीको आह्वान

Click Link to Send:
Click Link to Send:

pmकाठमाडौँ, २५ माघ । प्रधानमन्त्री सुशील कोइरालाले हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्रीसँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अविलम्ब सार्थक वार्ता सुरु गर्न संविधानसभामा रहेका सबै राजनीतिक दल र तिनका नेताहरुलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले आज एक विज्ञप्तिमार्फत भन्नुभएको छ – “गत माघ ५ गतेदेखि सहमति नजिक पुगिसकेका विषयलाई अघि बढाऔँ र छिटोभन्दा छिटो सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकलाई राजनीतिक स्थायित्व र प्रगतिको दिशातर्फ लैजान अग्रसर बनौँ ।”

विगत केही समयदेखि कायम रहेको सङ्क्रमणकाल लम्बिँदै जाँदा मुलुक र जनताले हासिल गर्नसक्ने आर्थिक समृद्धिको सम्भावनासमेत अन्योलमा परिरहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभएको छ – जिम्मेवार राजनीतिक दल र व्यक्तिले यस्तो अवस्थालाई जतिसक्दो छिटो अन्त्य गरी देशलाई निकास तथा जनतालाई विकास दिन अग्रसर हुनुपर्र्ने छ । तसर्थ चालु संविधान निर्माण प्रक्रियालाई अब कति पनि ढिला हुन दिनु हुँदैन ।

आफूले चुनेका प्रतिनिधिद्वारा निर्मित संविधानका आधारमा देशको शासन सञ्चालन गर्ने नेपाली जनताको २००७ सालदेखिको चाहना अझै अधुरै रहिरहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

यतिखेर मुलुकमा प्रमुख प्रतिपक्षी दल एनेकपा (माओवादी) तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतका राजनीतिक दलहरुले संविधान निर्माण प्रक्रियाबाट अलग रहेर आन्दोलन गरिरहेका छन् । संविधानसभामातहत गठित प्रश्नावली निर्माण समितिले अहिले प्रश्नावली तयार गरिरहेको छ र प्रश्नावली तयार गर्न दोस्रो पटक पाँच दिनको समयावधि थपिएको छ ।

यसै अवधिमा विपक्षी दलहरुसँग सहमति जुटाउने प्रयास पनि सँगैसँगै हुने सत्ता पक्षीय शीर्ष नेताहरुको भनाइ बाहिर आइरहँदा प्रधानमन्त्री कोइरालाबाट आज वार्ताका लागि दलहरुलाई आह्वान भएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement