advertisement
Send Us

सामाजिक परिसूचकहरुमा ठूलो सुधार : अर्थमन्त्री डा महत

Click Link to Send:
Click Link to Send:

IMG_1512काठमाडौँ, २३ माघ। अर्थमन्त्री डा रामशरण महतले नेपालले पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । नेपाल भ्रमणमा रहेको बेलायतका सांसदहरुको प्रतिनिधिमण्डलसँग शुक्रबार अर्थमन्त्रालयमा कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सो अवसरमा अर्थमन्त्री डा महतले ठूला पूर्वाधारका साथै ग्रामीण सडक, उर्जा, सिंचाई लगायतका क्षेत्रमा प्राथमिकता दिइएको र लगानी बढाइएको जानकारी दिनुभयो ।

उहाँले बिगत बर्षहरुको तुलनामा विकासका कामहरुमा तिब्रता आएको र विकास खर्च गत बर्षको तुलनामा ५१ प्रतिशतले बढेको तथ्यांक प्रस्तुत गर्नुभयो र भन्नुभयो, अझै पनि विकास निर्माणका कामहरुलाई तीब्र रफ्तारमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ ।

यसका लागि अर्थमन्त्रालयले अन्य मन्त्रालयहरुसँग सुसंयोजन गरी कामको समीक्षा गरिरहेको छ । विकास सहायता नीतिमार्फत अन्तर्राष्ट्रिय सहयोगलाई सरकारको लेखा प्रणालीमा ल्याइएको जानकारी दिदै उहाँले भन्नुभयो, सानातिना आयोजनाहरु बढी भएको र अनुगमन गर्न झण्झटिलो पनि हुने भएकोले सीमित ठूला आयोजनाहरुमा केन्द्रित हुन ५० करोडभन्दा बढी रकमका आयोजनाहरुमा मात्र विदेशी सहयोग लिने व्यवस्था गरिएको हो । तर प्राविधिक सहयोगमा भने यस्तो सीमा रहेको छैन । सो अवसरमा अर्थमन्त्री डा महतले बेलायत ठूलो दाताको रुपमा रहेको चर्चा गर्दै सहयोगको लागि धन्यवाद दिनुभयो र आगामी दिनमा थप सहयोग दिन आग्रह गर्नुभयो ।

सो अवसरमा उहाँले नेपालको भौगोलिक विविधता तथा अनुकूल हावापानीका कारण कृषिको विकास गर्न सकिने ठूलो संभावना रहेको जानकारी दिनुभयो । उहाँको भनाई थियो, यसले रोजगारी सिर्जनामा पनि ठोस सहयोग पुर्याउँछ । द्वन्द्वका वावजूद पनि नेपालले सामाजिक तथा मानव सूचकहरुमा उल्लेख्य प्रगति हासिल गरेको जानकारी दिदै उहाँले भन्नुभयो, करिब दुई दशकको अवधिमा औषत आयुमा बृद्धि भै ५४ बर्षबाट ६९ बर्षमा पुगेको छ ।

मातृ, बाल र शिशु मृत्युदर उल्लेख्य मात्रामा घटेको छ । साक्षरता प्रतिशत बढेको छ । खानेपानीमा पहुँच बढेको छ । यसले महिलाहरुको सशक्तिकरणमा समेत मद्दत पुर्याएको छ । बेलायतद्वारा सञ्चालित आयोजनाहरुको समीक्षा गर्न र थप सिफारिसहरु गर्नका लागि सांसद तथा बेलायतको संसद अन्तर्गतको अन्तर्राष्ट्रिय विकास समितिका अध्यक्ष माल्कम ब्रुसको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डल हालै नेपाल भ्रमणमा आएको छ ।

आठ दिनसम्म नेपाल रहँदा प्रतिनिधिमण्डलले बेलायतद्वारा सञ्चालित विभिन्न आयोजनाहरुको अध्ययन भ्रमण पनि गर्नेछ । बेलायतका सांसदहरुको यो समितिले डीएफआईडीद्वारा संसारभर सञ्चालित आयोजनाहरुको वाचडग बडीको रुपमा रहेको छ ।

सो अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र बेलायतका सांसदहरुको प्रतिनिधिमण्डलका सदस्यहरु, नेपालका लागि बेलायतका राजदूत एण्डी स्पार्क्स तथा दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement