advertisement
Send Us

तरकारी उत्पादनमा राउटे समुदाय

Click Link to Send:
Click Link to Send:

tarkariभीमदत्तनगर, २३ माघ । कुनै समय जङ्गलका राजा मानिने राउटे समुदाय वनमै रमाउँथे । उनिहरु गिठा, भ्याकुर, कन्दमूलको भरमा वस्दथे । अहिले जङ्गलमा गिठा, भ्याकुर र कन्दमूलजस्ता खानेकुराहरु सर्वसुलभ छैनन् । राउटेले गुना, बाँदर लगायतका जङ्गली जनावरको सिकार गर्दथे ।

काठका भाँडाकुँडा बनाई बिक्री गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनीहरुलाई रोजीरोजीका लागि रुख काट्न कुनै छेकवार थिएन् । तर, अहिले समय फेरिएको छ । राउटे समुदायलाई हिजोको जस्तै रुख काट्न छुट छैन् । न त वन्यजन्तुको सिकार गर्न नै छुट छ । त्यसैले राउटेलाई जीविकोपार्जन गर्न धौ धौ पर्न थालेको छ ।

जिविकोपार्जन गर्न मुश्किल भएपछि डडेल्धुराको भित्रीमधेस तथा कञ्चनपुरको चुरे क्षेत्रमा वसोवास गर्दै आएका राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षीत हुन थालेका छन् । डडेल्धुराको शिर्ष र आलिताल तथा कञ्चनपुरको खल्ला–मसेट्टीमा वस्दै आएको राउटे समुदायले धमाधम तरकारी उत्पादन गर्न थालेका छन् । मध्यपश्चिमको पहाडी भेगबाट राउटे समुदायले डडेल्धुराको भित्रिमधेस बसाइँसराइ गरेका हुन् । भित्रीमधेस क्षेत्रमा बसोवास गर्दै आएका करिब ६१ परिवार राउटे समुदाय तरकारी उत्पादनमा जुटेका छन् ।

गिठा, भ्याकुर र कन्दमूलका भरमा जीविका चलाउँदै आएका राउटेहरु अहिले तरकारी उत्पादन गरी उपभोग गर्नुका साथै बिक्री वितरण गरी राम्रो आय आर्जन गर्न थालेका छन् । कृषि प्रणालीमा सक्रिय भएपछि अचेल राउटको चुलोमा तरकारी पाक्न थालेको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ र सामाजिक जीवनशैलीमा समेत ठुलै रुपान्तरण हुँदै गएको छ । वर्तमान जीवनपद्धतिलाई अँगाल्ने क्रममा राउटेहरु समुदाय तरकारी खेतीतर्फ उन्मुख भएका हुन् । राउटेहरु आफ्नै उपभोगका लागि समेत तरकारी उत्पादन गरिरहेको बताउँछन् । “भविष्यमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच बनाइरहेका छौँ” – राउटे समुदायका युवा हरिसिंह राउतले बताउनुभयो ।

डडेल्धुरामा हालको परशुराम नगरपालिका वडा नं ४ मा राउटेका २५ परिवार र वडा नं १२ आमपानीमा ३६ परिवार परम्परागत खेतीका साथै तरकारी खेतीमा समर्पित रहेका छन् । उनिहरु करेसाबारीमा आलु, गोलभेँडा, काउली, प्याज, मुला, धनियाँ, रायो र केराउजस्ता तरकारी बाली उत्पादन गर्दै आएका छन् ।

जङ्गलमा तरुल, गिठा खन्ने, खोलामा माछा मार्ने, जङ्गली जनावर मारेर खाने राउटे जातिका महिला तथा पुरुषलाई तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्र डडेल्धुराले तालिम समेत दिँदै आएको छ । तरकारीको बीउ, उपकरण, सिँचाइका लागि पाइप र पोखरी निर्माण, किटनाषक औषधि समेत तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्रले उपलब्ध गराउँदै आएको छ । तालिम पाउन थालेपछि राउटे जाती खुसी मात्र भएका छैनन् उनीहरुले स्वस्थ रहनका लागि ताजा तरकारी आवश्यक भएको कुरा पनि थाहा पाएका छन् ।

पछिल्लो समय डडेल्धुरामा वस्दै आएका राउटेको जीवनशैली परिवर्तनशील हुनुका साथै उनिहरुको जनचेतनामा समेत वृद्धि हुँदै गएको छ । बीउ उत्पादन केन्द्र डडेल्धुराका कार्यालय प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । “आफू पनि तरुल खाने र अतिथिहरुलाई समेत त्यही तरुल खुवाएर स्वागत गर्ने राउटेहरुले चुलोमा आफ्नै बारीको तरकारी पकाउन थालेका छन् ।” उहाँले भन्नुभयो– “उनीहरु सामाजिक गतिविधिमा पनि सक्रिय हुन थालेका छन् ।”

राउटे समुदाय नेपालको प्राचीन सभ्यता बोकेको एउटा जाति हो । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जङ्गलमै बस्ने र त्यहीका रुख काटेर काठका सामग्री बनाएर गाउँमा लगी अन्नसँग साटेर जीविका चलाउने गर्छन् । जङ्गलमै बसेर काठका सामग्री बनाई बाँदर, गुना जस्ता जङ्गली जनावरको सिकार गर्ने राउटे समुदायको उनीहरुको रहनसहनमा पछिल्लो समय परिवर्तन हुँदै आएको छ । सुदूरपश्चिममा डडेल्धुराबाहेक कञ्चनपुरमा पनि राउटे समुदायको बसोवास छ ।

Your Opinion

Opinion

advertisement
advertisement