advertisement
Send Us

कृषि सेवा केन्द्रको सेवा प्रभावकारी नभएको गुनासो

Click Link to Send:
Click Link to Send:

Agro-Ministry-Of-Nepalमोरङ, २३ माघ । मोरङमा जिल्लाका कृषि सेवा केन्द्रहरुको सेवा प्रभावकारी हुन नसकेको गुनासो बढ्दो छ ।

जिल्लामा रहेका चार स्थायी र तीन अस्थायी सेवा केन्द्रमा पर्याप्त बजेट, भौतिक स्रोत साधन तथा जनशक्ति अभाव भएपछि सेवा केन्द्रहरुको सेवा प्रभावकारी हुन नसकेको गुनासो बढेको हो । मोरङमा बाहुनी, उर्लाबारी, बेलबारी र रङ्गेलीमा स्थायी सेवा केन्द्रहरु छन् । यसैगरी कटहरी, झोराहाट र टङ्कीसिनवारीमा अस्थायी सेवा केन्द्र छन् । तर ती सेवा केन्द्रको सेवाबाट स्थानीय कृषक सन्तुष्ट छैनन् ।

कृषि बालीको अवस्था अवलोकन गरेर प्रतिवेदन बुझाउने, प्रदर्शनीहरु गर्ने, कृषकलाई प्रविधि र रोगबारे परामर्श दिने लगायतका काम सेवा केन्द्रहरुको हो । तर ती सेवा केन्द्रमा प्रायः कर्मचारीहरु कमै वस्ने गरेका छन् । कर्मचारीको उपस्थिती भइहाले पनि उनिहरुले सेवा दिन चासो नदिने गरेको कृषकको गुनासो रहँदै आएको छ ।

सेवा केन्द्रको सेवा प्रभावकारी नहुँदा कृषक सेवा केन्द्रमा जानै छाडेको बाहुनी निवासी सुरेश कार्कीले बताउनुभयो । प्रायः सेवा केन्द्रको कामबारे अनुगमन नहुने भएकाले कर्मचारी तालिम, गोष्ठी र जिल्लाले बोलाएको बहाना वनाई कार्यालयका अनुपस्थित रहने गरेका छन् । कार्यालयमा भेट्टिएका कर्मचारीले पनि सेवा दिन आलटाल गर्दै आएका छन् । यसरी कृषकको आवतजावत कम हुँदा प्रायः सेवा केन्द्रहरु सुनसान र उजाड देखिने गरेका छन् ।

मोरङका चार वटा स्थायी सेवा केन्द्रमा एकजना प्राविधिक सहायकसहित तीनजना कर्मचारी छन् । अस्थायी सेवा कन्द्रमध्ये कटहरीमा दुई तथा अन्यमा एक–एकजना कर्मचारी मात्र छन् । अस्थायी सेवा केन्द्रले धेरथोर सेवा प्रदान गरिरहे पनि स्थायी सेवा केन्द्रको सेवा प्रभावहीन रहेको कृषकले जिल्ला कृषि कार्यालयसमक्ष ध्यान आकर्षण गराउँदै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले भौतिक स्रोत साधन र पर्याप्त बजेटको अभावमा सेवा केन्द्रको सेवा सोचेजस्तो नभएको तर प्रभावहीन भने नभएको बताउनुभयो । उहाँले सेवा केन्द्रहरुमा दरबन्दी र भौतिक स्रोत साधन थप गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारी गराउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement