advertisement
Send Us

संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफल जारी

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, पुस २२ । संविधानसभाको आजको बैठकमा पनि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफल जारी रह्यो ।

छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सभासद् सुरेन्द्रप्रसाद चौधरीले समितिको प्रतिवेदनले संविधानका अन्तरवस्तुमा सहमति जुटाउनुको साटो समस्या थपेको विचार व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का डा वंशीधर मिश्रले देशले हाल भोग्नुपरेका समस्या समाधान गर्न संविधान अपरिहार्य भएकाले प्रक्रिया छोट्याएर भएपनि माघ ८ गते संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभयो ।

एनेकपा (माओवादी) का मोहम्मद जाकिर हुसेनले आफ्नो दलका कारण संविधान लेखन भाँडिएको भन्ने सत्तापक्षलगायतको आक्षेपको प्रतिवाद गर्दै संविधानसभाबाट संविधान जारी गर्न आफ्नो दल प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका मीना पुनले अघिल्लो संविधानसभाले संविधान जारी गर्न नसक्दाको पीडा सबै दलका नेता र जनताले झेलेका प्रसङ्ग सुनाउँदै माघ ८ आउन केही दिनमात्र रहेको सन्दर्भमा अब असहमतिलाई थाती राखेर सर्वसम्मतिमा संविधान जारी गर्नैपर्छ भन्नुभयो ।

एमालेका कृष्णकुमार राईले सबै नेपालीले अपनत्व महसुस गर्ने खालको संविधान जारी गर्न एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

एमाओवादीका उषाकिरण अन्सारीले प्रमुख दलबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएका सहमतिको आधारमै जनपक्षीय संविधान जारी हुनुपर्ने तर्क गर्नुभयो ।

काँग्रेसका सभासद् मीनाक्षी झाले मुलुकले धान्ने गरी राज्यको पुनःसंरचना गर्नुपर्ने विचार व्यक्त गर्दै सहमति नभएको खण्डमा प्रक्रियामा गएर संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभयो ।

एमालेका सभासद् छेवाङ तेन्जेन लामाले जनताले संविधान आउँछ कि आउँदैन भनेर प्रश्न सोधिरहेको जानकारी दिँदै प्रक्रियामा गएर भएपनि आगामी माघ ८ गते मुलुकको मूल कानुन निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

संविधानसभाको अर्को बैठक बिहिबार १३ बजे बस्ने कार्यक्रम रहेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement