advertisement
Send Us

माग सुनुवाइ नभएको भन्दै राप्रपा नेपालको अवरोध

Click Link to Send:
Click Link to Send:

international_convention_center-biccकाठमाडौँ, २२ माघ। संविधानसभाको आजको बैठकमा राप्रपा नेपालले आफूहरुले उठाएको विषयमा सुनुवाइ नभएको भन्दै नाराबाजी र अवरोध गरेको छ ।

प्रस्ताव निर्माण समितिले संविधानका विवादित विषयमा प्रश्न बनाउने कार्यादेश पाएको भए पनि आफ्नो पार्टीको धारणाको कुनै पनि सुनुवाइ नगरिएको भन्दै आपत्ति प्रकट गर्‍यो । सङ्घीयता, धर्मनिरपेक्षता र राजसंस्थाको विषयमा पनि प्रश्न बनाउनुपर्छ भन्ने पार्टीको माग भए पनि नेपाली काँग्रेस र नेकपा(एमाले)लगायत दलले जबर्जस्ती गरेको अध्यक्ष कमल थापाले आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले आफूहरु प्रक्रियाका आधारमा संविधान जारी गर्नुपर्छ भन्ने मान्यतामा रहेको भए पनि फरक विचारलाई निषेध गर्ने प्रवृत्ति गलत र घातक भएको भन्दै प्रजातन्त्रमा कोही कसैलाई निषेध गर्न नमिल्ने धारणा राख्नुभयो । आफूहरुले बोकेको विचार गलत भए मतदानबाट हराइए पनि स्वीकार गर्ने भन्दै उहाँले प्रश्नावली नै नबन्ने भन्ने विषय पूर्णतः गलत भएको बताउनुभयो ।

यही माघ ११ गते गठित प्रस्ताव समितिको माघ १७ गते बसेको बैठकले बनाएको कार्यविधिमा सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायत विषयमा मतदान नहुने र प्रश्न नबन्ने उल्लेख छ । प्रस्ताव समितिमा सहभागी भएको राप्रपा नेपालले आफूहरुको माग सुनुवाइ नभएको भन्दै बैठक नै बहिस्कार गरेको थियो ।

संविधानसभाको आजको बैठकमा सभाध्यक्षसँग समय लिएर राप्रपा नेपालका अध्यक्ष थापाले प्रक्रियामा हराइए पनि आफूहरुले उठाएको विषयमा प्रश्न बन्नुपर्ने माग गर्नुभएको थियो ।

उहाँले प्रक्रियामा नै प्रवेश गर्न नदिने प्रवृत्ति लोकतन्त्रका लागि घातक भएको भन्दै जबर्जस्ती नगर्न काँग्रेस, एमालेलगायत दललाई आग्रह गर्नुभयो । एकीकृत नेकपा(माओवादी), मधेसकेन्द्रित दललाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्नेमा आफ्नो दललाई समेत बाहेक गर्न खोज्नाले संविधानसभाबाट संविधान बन्न नदिने खेल सुरु भएको आशङ्का व्यक्त गर्नुभयो ।

सभाध्यक्ष नेम्वाङले राप्रपा नेपालले उठाएको विषय गम्भीर भएको र त्यसमा ध्यानाकर्षण भएको तर अहिले समय नभएको जानकारी गराउँदै गर्दा सो दल सम्बद्ध सभासद्ले नाराबाजी सुरु गर्नुभएको थियो ।

नाराबाजी र अवरोध भए पनि प्रस्ताव समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको समय पाँच दिन थप गर्नेसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्ताव पेस भएलगत्तै सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठक यही माघ २९ गते अपराह्न १ बजेका लागि स्थगन भएको जानकारी गराउनुभएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement