काठमाडौँ, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ढलिसकेको राजतन्त्र पुनः ब्युँतन नसक्ने बताउनुभएको छ ।
युवा सङ्घ नेपालको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरू र आफूका बीचमा भएको सहमति कार्यान्वयन गर्न वक्तव्य दिएको कुरालाई ‘मरेको सर्पले पुच्छर हल्लाए सरह’ ठान्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले संविधान निर्माणको प्रक्रियालाई अब धेरै ढिलाइ गर्न नहुनेमा जोड दिँदै भन्नुभयो, “दुईतिहाईले संविधान बनाउन पाइँदैन भन्ने कहाँको लोकतन्त्र हो ?”
उहाँले केही नेताहरूको सहमतिका आधारमा मात्रै संविधान जारी गर्ने हो भने ६०१ सभासद्का लागि निर्वाचन नै गर्नुपर्ने थिएन भन्नुभयो ।
अध्यक्ष ओलीले एमाले मधेसविरोधी पार्टी नभएको स्पष्ट गर्दै केही नियत खराब भएकाले लगाएको आरोपको पछि नलाग्न अपिल गर्नुभयो ।
उहाँले पार्टीमाथि लगाइएको आरोप र एमाओवादी मोर्चाले घोषणा गरेको आन्दोलनका कारण जनतामा उत्पन्न भ्रम चिर्न युवाहरूले भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो ।
लडाकू शिविरको खर्च छानबिनको माग
यसैबीच सङ्घका केन्द्रीय कमिटीको पाँचौ पूर्णबैठकले एमाओवादी लडाकूको शिविरका लागि सरकारबाट दिइएको खर्च पारदर्शी नभएको भन्दै छानबिनका लागि माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिनेलगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकोछ । बैठकका निर्णयबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष निरु पालले सो जानकारी दिनुभएको हो ।
बैठकले उपाध्यक्ष दिलु पन्तलगायतले समानान्तर गतिविधि सञ्चालन गर्न खोजेको सम्बन्धमा छानबिनका लागि अर्का उपाध्यक्ष सूर्य ढकालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । सङ्घको राष्ट्रिय युवा परिषद्को बैठक आउँदो चैत ७ र ८ गते हैटौँडामा गर्ने तय भएको महासचिव राजीव पहारीले बताउनुभयो ।
असन्तुष्ट पक्षको पनि भेला
यता, पन्तको नेतृत्वमा रहेको असन्तुष्ट पक्षले विधानको व्यवस्था मिचेर निवर्तमान अध्यक्ष महेश बस्नेतले पाललाई अध्यक्ष बनाएकामा स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ । सो पक्षले पनि चैत ७ र ८ गते काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।