advertisement
Send Us

काँग्रेसले संविधान ल्याएरै छाड्छ – प्रम कोइराला

Click Link to Send:
Click Link to Send:
फाइल फोटो

फाइल फोटो

धादिङ, १० फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली काँग्रेसले संविधान ल्याउनकै लागि लामो समयदेखि राजनीतिक सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै जतिसुकै ठूलो मूल्य चुकाएर भए पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।

आज धादिङको बैरेनीमा आयोजित गणेशमान सिंह बलिदान अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै पक्षको सहमतिमा संविधान जारी गर्ने प्रतिबद्धताअनुरुप साझा सहमति बन्न नसकेकाले माघ ८ मा संविधान जारी गर्न नसकेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो – देशमा शान्ति, लोकतन्त्र र स्थायित्वका लागि संविधान चाहिएको छ । देशलाई समृद्धिको बाटोमा अघि बढाउन र कृषि, पर्यटन, सडक, रेलवेलगायतका क्षेत्रमा विकास गर्न मैले जनतासँग शान्ति मागिरहेको छु ।

“अहिले आन्दोलन होइन संविधान निर्माण र देश विकास गर्ने समय हो,” उहाँले भन्नुभयो । आन्दोलनरत दलहरुतर्फ लक्ष्यित गर्दै उहाँले अहिले तर्साउने, थर्काउने र धम्काउने बेला नभएको बताउनुभयो ।

नेपाली काँग्रेस धेरै दुःख सहेर यहाँसम्म आइपुगेको पार्टी हो भन्दै उहाँले जसले जतिसुकै आन्दोलनको धम्की दिए पनि संविधान ल्याएरै देखाउने दाबी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा रामशरण महतले अहिले राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले लोकतन्त्र, शान्ति र आर्थिक विकासमा लाग्न जनतालाई आग्रह गर्नुभयो ।

त्यसैगरी, वनमन्त्री महेश आचार्यले गणेशमान सिंह समताको प्रतीक भए जस्तै सबै मिलेर समतामूलक संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानसभा छाडेर हिंसात्मक आन्दोलनतर्फ नलागी संविधानसभाभित्रैबाट समस्याको समाधान खोजेर संविधान जारी गर्न सघाउन आन्दोलनरत दलहरुलाई आग्रह गर्नुभयो ।

गणेशमान बलिदान अभियानअन्तर्गत गणेशमान सिंह भद्रगोल जेल तोडेर भाग्ने क्रममा विश्राम लिएको धादिङको बैरेनी गाउँ विकास समिति वडा नं ८ मा चौतारो निर्माण गरी आइतबार उद्घाटन गरिएको छ । प्रधानमन्त्री कोइरालाले चौतारोमा बर–पिपल रोपेर चौतारोको उद्घाटन गर्नुभएको थियो ।

बलिदानी अभियान यात्राअन्तर्गत गणेशमान जेल तोडेर देश यात्रामा निक्लेको बाटोमा उहाँको जन्मशताब्दीको अवसर पारी नेकाको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पैदल यात्राको आयोजना गरेको हो ।

यात्राअन्तर्गत नुवाकोट जिल्लाले धादिङ जिल्लालाई गणेशमानको फोटो र झन्डा हस्तान्तरण गरेको छ ।

अभियानअन्तर्गत नेविसङ्घ धादिङले सोमबार धादिङको बेनीघाटमा गणेशमानको स्मृतिमा कवि गोष्ठीको आयोजना गरी गोरखा जिल्लालाई झन्डा र गणेशमानको फोटो हस्तान्तरण गर्ने भएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement